एसिसी यू-१९ एसियाकप : अफगानिस्तानको चुनौती सामना गर्दै नेपाल

काठमाडौं ! एसिसी यू-१९ एसिया कपको दोस्रो तथा आफ्ना लागि जित्नै पर्ने खेलमा आज अफगानिस्तान र नेपाल प्रतिस्पर्धा गर्दैछन्।

दुवै टिमले पहिलो खेल गुमाएकाले सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा मैदान उत्रिँदै छन्।

१:१५ मा दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा हुने खेलमा नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ। अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग हारेकाले नेपाललाई हराएर सेमिफाइनल आशा कायम राख्ने दौडमा मैदान उत्रिनेछ।

आजको खेलमा नेपाल पराजित भएमा सेमिफाइनल सम्भावना सकिने छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।

समूहको अन्तिम खेलमा नेपाल मंगलबार भारतसँग खेल्ने छ। पहिलो खेलमा हारपछि शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न बाँकी दुवै खेलमा जित हात पार्नुपर्ने हुन्छ। समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्।

आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। भारत र पाकिस्तानबिचको विजेता टिमले सेमिफाइनलमा स्थान बनाउने छ।

नेपालले खेलेका पछिल्ला पाँच खेलमा कुनै खेलमा पनि जित निकालेको छैन। पाँचै खेलमा नेपाली युवा टोली पराजित भएकाले अफगानिस्तानविरुद्धको खराब विरासतको अन्त गर्ने चुनौती पनि नेपाली युवा टोलीलाई रहेको छ।