केपी ओली टी–२० क्रिकेटको तयारी पूरा : १२ टोलीको सहभागिता हुने

काठमाडौं ! पोखरामा हुने केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

मंसिर ७ देखि १५ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको हो।

प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् क्लबका २ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

बिहीबार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गर्ने तय भएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए। उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछ।

म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन्।

प्रतियोगिता सम्पन्न गर्न ७७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। स्थानीय तहसँगको सहकार्यमा आर्थिक जोहो गर्ने अध्यक्ष आचार्यले बताए।

प्रतियोगितालाई निरन्तरता दिने आचार्य बताउँछन्। ‘२ वर्षमा या वर्ष दिनमा गर्ने भन्ने टुंगो लाग्न बाँकी छ। फरक–फरक ठाउँमा हुनेछ’, उनले भने, ‘पुरस्कार राशी पनि वर्षेनी बढ्नेछ। खेलाडी र खेलकुदको हितमा अझै काम गर्न बाँकी छ भनेर हामी लागेका छौँ।’

मंगलबार पोखरामा पत्रकार सम्मलेन गर्दै विजेता र उपविजेताले पाउने सिल्डसमेत सार्वजनिक गरिएको छ। केपी ओली राष्ट्रिय कप टी– २० क्रिकेट प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भएको छ । उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ ले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछिका हरेक दिन २ खेल हुनेछ।

ग्रुप ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, ग्रुप ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, ग्रुप ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम छन्। ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘निलो’ छन्।