अष्ट्रेलियाले जित्यो छैठौ पटक एक दिवशीय विश्वकप क्रिकेटको उपाधि

काठमाडौं ! अष्ट्रेलियाले छैठौ पटक एक दिवशीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले छैठौ पटक उपाधि जितेको हो ।

फाइनल खेलमा भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा अल आउट हुँदै २४० रन बनाएको थियो । भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा भेट्टाएको हो । अष्ट्रेलियाको लागि ट्राभिस हेडले आक्रामक पारि खेल्दै सर्वाधिक १३७ रन बनाए। मार्नस लाबुछानेले नट आउट रहेर ५८ रन बनाए । यी दुई बीचको १३७ रनको पार्टनरसिप नै अष्ट्रेलियाको लागि जितको आधार बनायो । भारतको लागि मोहम्मद शामीले २ , जसप्रित बमराहले १ र मोहम्मद सिराजले १ विकेट लिए ।

त्यस अघि भारतले ब्याटिंग गरेर २४० रन बनाएको थियो। भारतको लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए भने वीरत कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए ।  सुर्य कुमार यादवले १८ रन बनाए भने कुलदिप यादवले १० रन बनाए ।  अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अष्ट्रेलियाको लागि मिसेल स्टार्कले सर्वाधिक ३ तथा प्याट कुमिन्स र जोस हेजलवुडले समान २-२ विकेट लिए ।

फाइनल खेल गुजरातको अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा भएको हो । १ लाख ३० हजार जना क्षमताको यो रंगशाला विश्व कै ठूलो रंगशाला हो ।

आजभन्दा २० वर्ष अघि अर्थात् सन् २००३ को विश्वकप फाइनलमा पनि यी दुई टिम उपाधिको लागि खेलेका थिए । त्यस समय अष्ट्रेलियाले भारतलाई १२५ रनले पराजित गरेर उपाधि जितेको थियो । आज अष्ट्रेलियाले भारतलाई हराउदै २० वर्ष पुरानो इतिहास फेरी दोहोर्याएको छ ।

समुह चरणको सुरुको २ खेल हुँदा अंक तालिकाको पुछारमा रहेको अष्ट्रेलिया त्यसपछिका सबै ८ खेल जित्दै फाइनल पुगेको हो । फाइनल खेल पनि जित्दै अष्ट्रेलियाले उपाधि जितेको छ । भारत भने अपराजित रहदै फाइनलमा पुगे पनि फाइनलमा भने हारेको छ ।

फाइनल अष्ट्रेलियाले जितेसंगै यो अष्ट्रेलियाको छैठौ उपाधि भएको छ ।  अष्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो ।