आईसीसी टी–२० क्रिकेट विश्वकप छनोट : नेपाल ओमानसँग भिड्दै

काठमाडौं ! आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले आज ओमानको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे शुरू हुनेछ ।

नेपाल र ओमान दुवै एक खेलअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यसर्थ, आजको खेल जसले जित्यो उ समूह ‘ए’को विजेता बन्नेछ । फाइनल प्रवेशका लागि उसले समूह ‘बी’को उपविजेता प्रतिद्वन्द्वी पाउनेछ । यसर्थ, नेपाल आज ओमानलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ ।

फाइनल पुग्ने एक टोली सन् २०२४ मा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।

नेपाल र ओमानले यसअघिका खेलमा सिंगापुर र मलेसियालाई हराएका थिए । समान ४ अंक भए पनि ओमान नेट रनरेटमा अगाडि छ ।

यस्तै आजै अन्य तीन खेल पनि हुँदैछन् । जसमा यूएईविरुद्ध हङकङ, मलेसियाविरुद्ध सिंगापुर र बहराइनविरुद्ध कुवेत रहेका छन् ।