आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा यूएई १ सय ७७ रनले पराजित

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराएकाे छ ।

नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयाे । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा साेमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, राेहन मुस्तफा र जवार फरिदले २/२ विकेट लिए ।

याे जितसँगै नेपालले लिग–२ बाटै दुई खेलअघि नै एकदिवसीय मान्यता जाेगाएकाे छ । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाकाे चाैथाै स्थानमा उक्लिएकाे छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाकाे शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ । नेपालसँगकाे हारसँगै यूएईले एकदिवसीय मान्यता कायम राख्न प्लेअफ क्वालिफार खेल्नुपर्नेछ ।

यूएईकाे एकदिवसीय मान्यता खतरामा परेकाे छ । अब यूएईले एकदिवसीय मान्यता जाेगाउन बाँकी दुई खेलमा ठूलाे अन्तरले जित हात पार्नुपर्ने हुन्छ । ३४ खेलमा ३१ अङ्क भएकाे यूएई तालिकाकाे छैटाैँ स्थानमा छ । पाँचाैँ स्थानमा रहेकाे अमेरिकाकाे ३६ खेलमा ३५ अङ्क छ । नामिबिया ३६ खेलमा ३९ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

याे जितसँगै नेपालले शीर्ष तीनमा रहँदै साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । अब नेपालले लिग–२ काे अन्तिम शृङ्खलाकाे बाँकी दुइटै खेल जित्नुपर्ने हुन्छ । अब नेपालले भोलि साेमवार पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ । लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अङ्क र ओमान ३६ खेलमा ४४ अङ्कसहित क्रमशः पहिलाे र दाेस्राे स्थानमा रहँदै साेझै विश्व कप खेल्नका लागि छनाेट भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *