आईसीसी यू–१९ विश्वकप क्रिकेट : यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनौट

काठमाडौं !नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटमा प्रवेश गरेको छ । एसिया क्षेत्र छनोटमा नेपालले घरेलु टिम यूएईलाई सात रनले पराजित गर्दै विश्वकपमा प्रवेश गरेको हो ।

१९२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले ४८ ओभरमा सबै विकेटको क्षतिमा १८४ रन मात्रै बनाएपछि नेपालले रोमाञ्चक जित निकालेको हो । इथान कार्लले ५१, आर्यन सक्सेनाले ३४ र आर्यन्स शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले पाँच विकेट लिए ।

यसअघि टस हारेसँगै ब्याटिङ गरेको नेपालले खराब सुरुआत गर्दै ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १९१ रन बनाएपछि यूएईले सामान्य चुनौती पाएको थियो । नेपालले १९ रन हुँदा तेस्रो विकेट गुमाइसकेको थियो । नेपालका ओपनर दिपक बोहरा शून्यमा पहिलो बलमै आउट भए । त्यसपछि ९ रन हुँदा अर्जुन कुमाल व्यक्तिगत तीन रन बनाएर आउट भए । तेस्रो विकेटको रुपमा आकाश त्रिपाठी ९ रनमा पेभेलियन फर्किएपछि नेपाल दबाबमा आएको थियो ।

तर, कप्तान देव खनाल र उत्तम थापामगरले ८४ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान देव ५१ रनमा आउट भए । त्यस्तै, विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाए ।

बलिङतर्फ यूएईका ध्रुव परशारले तीन, हरित हरिश शेटी र आयन अफ्जल खानले समान २–२ विकेट लिए । यूएईलाई हराएसँगै नेपालले आगामी वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न पाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *