पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. ढकाल विरुद्द भ्रष्ट्राचार मुद्दा

काठमाडौं ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकाल विरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा उनी विरुद्द गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो।

अख्तियारले ढकाल उपर १ करोड ४४ लाख ११ हजार ७ सय ८१ रुपैयाँ ७१ पैसा बिगो कायम गरेको छ ।

सार्वजनिक पद धारण गरेका निज प्रदिप ढकालले प्रचलित कानूनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वभाविक देखिनुका साथै अस्वभाविक उच्च जीवनस्तर यापन गरेको र सार्वजनिक पदको दुरुपयोग गरी रु.१,४४,११,७८१।७१ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अक्तियारले जनाएको छ ।

अख्तियारका अनुसार ढकालले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४।०४।३२ गतेदेखि निजले सम्पत्ति विवरण पेश गरेको मिति २०७९।०२।३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरी विभिन्न शीर्षकमा भएको आयलाई विश्लेषण गर्दा आयतर्फ निज सार्वजनिक सेवामा प्रवेश गर्दाको बखत निज र निजको परिवारको बैंक खातामा रहेको मौज्दात रकम, निजको पारिश्रमिक वचत, निजले प्राप्त गरेको प्रोत्साहन भत्ता, बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त सुविधा, सेवाबाट अवकाश भएपछि नागरिक लगानी कोषबाट प्राप्त रकम, बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रकम, शेयर बिक्रीबाट प्राप्त रकम र बिभिन्न ब्यक्तिहरुसँग लिएको ब्यक्तिगत सापटीसमेत गरी आयतर्फ छ करोड उनान्चालीस लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैंया एकचालीस पैसा खुलेको छ ।

यसै अवधिको विभिन्न शीर्षकमा भएको व्ययतर्फ घर/जग्गा खरिदमा रजिष्ट्रेशन दस्तुरसहित, उक्त घरमा इन्टेरियर डेकोरेशनमा भएको खर्च, बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाबापतको साँवाब्याज भुक्तानीमा भएको खर्च, बैंक वित्तीय संस्थाबाट कर्जा लिँदा तिरेको सेवा दस्तुर, बिभिन्न कम्पनीको शेयर खरिदमा भएको खर्च, बिभिन्न ब्यक्तिहरुबाट लिएको सापटी रकम फिर्ता भुक्तानीमा भएको खर्च, बैंक खाताबाट क्लियरिङ्गमार्फत खर्च गरेको रकम, औषधि उपचारमा भएको खर्चसमेत गरी जम्मा  सात करोड चौरासी लाख पाँच हजार चौरानब्बे रूपैंया बाह्र पैसा  खर्च तथा लगानी भएको देखिंएको अख्तियारले उल्लेख गरेको छ ।

बैधानिक श्रोत खुल्न नसकेको लगानी एवं सम्पत्ति एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा देखिएको अख्तियारले जनाएको छ  । प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गरी पाउनका साथै प्रतिवादी प्रदिप ढकालले जाँच अवधिमा गैरकानूनी रूपमा आर्जन गरेको श्रोत नखुलेको बिगो निजको नाममा हाल कायम रहेको घर/जग्गाबाट प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको हो।

२०७४ सालमा जितेन्द्र देव पर्यटन मन्त्री हुँदा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा ढकाल नियुक्त भएका थिए ।  उनले पूर्वीय दर्शनमा भारतको बनारसस्थित हिन्दु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *