यी हुन् कांग्रेसका राष्ट्रियसभा सदस्यका १० जना उम्मेदवारहरु

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गरेको छ। लामो रस्साकस्सीपछि कांग्रेसले सोमबार बिहान उम्मेदवार  चयन रहेको हो । १० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा झापा-३ बाट पराजित भएका थिए ।

त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् । सिटौला र ढुंगाना दुवै संस्थापन पक्षबाट उम्मेदवार बनेका हुन् ।

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । बस्नेत सभापति शेरबहादुर देउवा निकट हुन् भने पुडासैना नेता प्रकाकाशमान सिंह निकट हुन् ।

यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।

श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री हुन् भने रिसेडका अध्यक्ष समेत रहेका परियार कांग्रेस क्षेत्रीय प्रतिनिधि हुन् । सापकोटा कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समिति सदस्य हुन् । गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताए ।  रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् । उनीहरु तीनै जना संस्थापन पक्षका नेता हुन् ।