काङ्ग्रेस महाधिवेशनमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं ! नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ।

मनोनयन दर्ता गर्न सभापतिका लागि ३० हजार रुपैयाँ, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यको १० हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। मनोनयनका लागि लाग्ने रकम महाधिवेशनस्थल भृकुटीमण्डपमा नै प्रभु बैंकको अस्थायी रुपमा स्थापना गरिएको काउन्टरमार्फत् समितिको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए।

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ। उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *