कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न पुस १३ गते निर्वाचन हुने

काठमाडौं ! नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न पुस १३ गते निर्वाचन हुने भएको छ।

सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि दलको नेता चयनका लागि पुस १३ गते निर्वाचन हुने भएको हो। बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि निर्वाचनको मिति तोकेको छ।

निर्वाचन संसदीय दलको कार्यालय हेटौंडा परिसरमा गर्ने समितिले निर्णय गरेको छ।  समितिले पुस १३ गते दिउँसो २ देखि ३ बजेसम्मका लागि मतदानको समय तय गरेको छ। दलको नेता चयनको लागि हुने निर्वाचनअन्तर्गत पुस १२ गते दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने छ।

सोही दिन दिउँसो २  देखि ३ बजेसम्म मतदाता नामावली उपर दावी विरोधको समय रहेको छ। दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन पुस १२ गते दिउँसो ४ बजे तय गरिएको छ। त्यसैगरी पुस १३ गते बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि मनोनयनको समय राखिएको छ। सोही दिन बिहान १०:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिने छ भने उम्मेदवारको दरखास्त उपर दावी विरोधका लागि बिहान ११ बजेदेखि ११:३० बजेसम्मको समय तय गरिएको छ। सोही दिन दिउँसो १२ बजे दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिने छ।

पुस १३ गते दिउँसो १२:३० देखि दिउँसो १:३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने सकिने छ भने दिउँसो १:४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ र २ बजेबाट मतदान सुरु गरिने छ।   मतदानको लागि निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लामवद्ध रुपमा रहेर मतदान गर्न सकिने छ।

समितिले मतदानका लागि आफू निर्वाचित भएको प्रमाणपत्र अनिवार्य गरेको छ। निर्वाचन सम्पन्न भए लगत्तै मतगणना सुरु गर्ने समितिले जनाएको छ भने मतगणना समाप्त भएपछि मतगणनाको नतिजा घोषणा गर्ने निर्वाचन समितिले जनाएको छ। समितिको सदस्यहरूमा राजु श्रेष्ठ, ऋषिराम घिमिरे, गंगा दाहाल र सानुकान्छा श्रेष्ठ रहेका छन्।

कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षकै २ जना आकांक्षी हुँदा नेता चयन गर्न निर्वाचन हुन लागेको हो। कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख)बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख)बाट निर्वाचित इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन्। कांग्रेस केन्द्रीय सदस्य लामा बागमती प्रदेशको मुख्यमन्त्री बन्नकै लागि केन्द्रबाट प्रदेशमा झरेको चर्चा छ। पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दावी स्वाभाविक भएको लामाको भनाइ छ। बागमती प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलको नेता भइसकेका बानियाँ सोही कार्यकालमा मुख्यमन्त्रीका दाबेदार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *