गोरखा — गण्डकी प्रदेश सरकार गठनको क्रममा कांग्रेसले बेइमानी गरेको गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताएका छन् । जनता समाजवादी पार्टीलाई दुई मन्त्रालय दिने लिखित सहमति कार्यान्वयन नगरेर कांग्रेसले राजनीतिक बेइमानी गरेको उनको आरोप छ । गण्डकी प्रदेश सभामा जसपाका दुई सासंद छन् ।
११ मन्त्रालयमा नै नियुक्ति भइसकेको अवस्थामा आफ्नो पार्टीले एक मन्त्रालय पाउने संभावना कम देखेको उनले बताए । ‘दुई मन्त्री पाउने संभावना दिए छ, नदिए सकियो,’ उनले भने,‘११ मन्त्रालयमा सबै ठाउँमा नियुक्ति भइसक्यो, अब १२ बनाउने एउटा ठाउँ छ तर त्यसले राम्रो म्यासेज जाँदैन, अर्को मन्त्रालय थप्ने कुरा राजनीतिक र व्यवहारिक रुपमा सजिलो छैन ।’ सहमतिअनुसार दुई मन्त्रालय नदिएर आफूहरुमाथि अन्याय गरेको उनले बताए । ‘हामीमाथि अन्याय भयो, राजनीतिक रुपमा नकारात्मक हिष्ट्री बनाउनुभयो, कांग्रेस यस्तै छ भन्ने हामीले बुझेका छौं,’ उनले भने ।