कारबाहीमा परेका काङ्ग्रेस नेता पुष्कर ओझाले प्रधानमन्त्री देउवालाई भेट्न मानेनन्

धनगढी !२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेतृ आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा हराउन भूमिका खेलेर अन्तर्घातको आरोपमा कांग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझा स्थानीय तहको निर्वाचनमा पनि खुलेका छैनन् ।
त्यतिखेर आरजु एमाले नेता नारदमुनी रानासँग हारेकी थिइन् । अन्तर्घातको आरोपमा कांग्रेसले उनलाई साधारण सदस्यबाट पनि निस्कासन गरेको थियो । अहिले पनि उनीमाथिको कारबाही फुकुवा भएको छैन ।
स्थानीय चुनावमा धनगढी उपमहानगर मेयरमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड प्रतिस्पर्धामा रहेका बेला ओझा साइलेन्स छन् । जबकि, ०७४ को स्थानीय चुनावमा वडलाई मेयरमा जिताउन ओझा पनि मैदानमा उत्रिएका थिए । तर, अहिले वडलाई सहयोग गर्नु त परैको कुरा बरु आफू निकटलाई स्वतन्त्र उम्मेदवारमा खडा गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा आरजु पुन: सोही क्षेत्रबाट चुनाव लड्ने सम्भावना रहेकाले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान पनि धनगढीमा छ ।
आइतबार धनगढी पुगेका उनले सोमबार त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । चुनावी जाेडघटाउ भइरहँदा देउवाले तिनै ओझालाई भेट्का लागि बोलाएका  थिए । तर, कारबाही यथावत रहेको भन्दै ओझाले देउवालाई भेट्न मानेनन् ।
भेट्न आउन नमानेपछि देउवाले ओझासँग फोनमै भए पनि कुरा गर्न चाहेका थिए । फोनमा कुरा गर्न पनि ओझाले अस्वीकार गरेको उनी निकट स्रोतले जनाएको छ  ।
‘चुनाव अघि नै सल्लाह गरेर हाम्रा  पक्षका केही नेतालाई पनि समेटेको भए र नृप (कांग्रेस उम्मेदवार)लाई मेयरमा सहयोग गर्न सकिन्थ्यो,’ ओझाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले अन्तिम समयमा आएर बिग्रिसकेको माहोल बनाउन सम्भव हुँदैन । त्यसैले अहिले भेटेर पनि  काम छैन ।’
ओझाले अब चुनावपछि भेट्न सकिने सन्देश देउवालाई पठाएका थिए ।
ओझा तिनै हुन् जो २०७० मा  देउवाले तत्कालीन निर्वाचन क्षेत्र नम्बर ६ (हाल ५)  छाड्दा उपनिर्वाचन जितेका थिए । त्यतिखेर देउवा धनगढी र डडेल्धुराबाट चुनाव लडेका थिए । दुबै ठाउँबाट विजयी भएपछि उनले डडेल्धुरा रोज्दा धनगढीमा उपचुनाव भएको थियो ।
कुनै बेला कोइराला पक्षधर रहेका ओझा देउवा क्याम्पमा आए पनि गुट निर्माण गरेको आरोप थियो । ०७४ को चुनावमा उनी धनगढीबाट चुनाव लड्न चाहान्थे । तर,  देउवापत्नी आरजुले धनगढी राेजेपछि उनी असन्तुष्ट भएका थिए ।
चुनावमा आरजु हारेपछि अन्तर्घातको बात उनै ओझामाथि लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *