कांग्रेस बैठक : अधिकांश शीर्ष नेता तालमेलको पक्षमा, शेखर समूह विपक्षमा

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा मुख खोल्दै गएका छन् ।

सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला पनि सत्ता गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।

तर, कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्दै आएका नेता डा. शेखर कोइराला भने कांग्रेस कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्नेतर्फ जोड दिँदै आइरहेका छन् । उनले कांग्रेसले अरूको साथ खोजेर अघि बढ्ने हो भने भारतीय कांग्रेस पार्टी कांग्रेस आईको जस्तो अवस्थामा खुम्चिन पुग्ने चेतावनीसमेत दिँदै आएका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *