चुनावमा कांग्रेसले गठबन्धन गर्नुहुन्न : गगन थापा

काठमाडौं ! नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले चुनावमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । उहाँले पार्टीको बनेपा नगरसमितिद्वारा आज बुधवार आयोजित वृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताउनुभयो ।

‘पार्टीलाई चुनावमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु, नसके पार्टीको निर्णय मान्छु’, पूर्वमन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो । चुनावमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उहाँले दोहोर्‍याउनुभयाे ।

पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने महामन्त्री थापाले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मतदाताले पार्टी बदल्न पाउँछ तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुँदैन, पाप लाग्छ ।’ चुनावमा कांग्रेस एक्लैले जितेर देखाउनुपर्ने उहाँको तर्क थियो । महामन्त्री थापाले आउँदो पाँच वर्ष कांग्रेसलाई मत दिन जनतालाई अनुरोध गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरी जनताको अवस्थामा सुधार गर्ने, युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उहाँले ठोकुवा गर्नुभयो । उहाँले थप्नुभयो, ‘हामीले स्थानीयमा मात्र हैन, प्रदेश र सङ्घमा पनि बहुमत ल्याउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *