अमेरिकी मन्त्रीको चासोलाई दबाब भन्न नमिल्ने नेपाली कांग्रेसको स्पष्टोत्ती

काठमाडौं : नेपाली कांग्रेसले एमसीसी सम्झौतामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको चासोलाई दबाब भन्न नमिल्ने तर्क गरेको छ ।

कार्यसम्‍पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी चासोलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन आएको पुष्टि गर्दै महतले एमसीसीमा भएको ढिलाईबारे चासो राखेको जानकारी दिए । ‘उहाँहरुको चासो, तपाईहरुले नै प्रस्ताव गरेर निर्धारण गरेको क्षेत्रमा हामी सहयोग प्रक्रिया अगाडि बढाएका हौं र तपाईहरुले नै पास गर्ने प्रतिबद्धता जनाउनुभएको हो । के कारणले यो कुरामा अफ्ठेरो परेको छ भनेर उहाँहरुले प्रश्न गर्नु स्वभाविक हो । कुनै अनौठो कुरा होइन,’ उनले भने ।

प्रधानमन्त्री एवं सभापति देउवाले सबैलाई सहमतिमा ल्याउने प्रयास भइरहेको र चाँडै टुंगो लगाउने जवाफ दिएको उनले बताए । उनले अमेरिकी मन्त्रीले राखेको चासो र जिज्ञासालाई दबाब भन्न नमिल्ने बताए । एमसीसी सम्झौताको प्रक्रियामा सरकारमा सहभागी सबै दल सहभागी भएको भन्दै अहिले अन्योलमा राख्नु उपयुक्त नभएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *