कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।

ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयले जनाएको छ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।

यस बैठकको मुख्य एजेन्डा समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली छनोट गर्नु रहेको छ।

निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम तय गरिनेछ।

आजको बैठकले गर्ने निर्णयका आधारमा निर्वाचित सांसदहरूको सूची अन्तिम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाइनेछ।

हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा जित हासिल गरेको छ भने समानुपातिकतर्फ पार्टीले कुल २० सिट प्राप्त गर्ने भएको छ।

प्रत्यक्ष र समानुपातिक गरी दुवैतर्फको शक्ति सन्तुलन र समावेशीतालाई ध्यानमा राखेर सांसदहरूको नाम टुङ्गो लगाउनु पर्ने चुनौती कांग्रेससामु रहेको छ।