अब कम्पनी दर्ता र पुँजी वृद्धि गर्न शुल्क नलाग्ने

काठमाडौं ! कम्पनी दर्ता गर्दा तथा कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने भएको छ । उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै यस सम्बन्धी व्यवस्था गरेको हो ।

यस संगै सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पुँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ ।

नयाँ व्यवस्था अनुसार अब प्राइभेट लिमिटेड कम्पनी,पब्लिक लिमिटेड कम्पनी र मुनाफा वितरण नगर्ने कम्पनी स्थापना गर्न शुल्क लाग्ने छैन। त्यस्तै यस अघि नै दर्ता भएका कम्पनीले पुँजी वृद्धि गर्दा शुल्क तिर्नु पर्ने छैन। त्यस्तै कम्पनी ऐनको दफा ५६ बमोजिम कम्पनीले उपयुक्त ठानेको रकमकोनयाँ शेयर सिर्जना गरी कम्पनीको अधिकृत शेयर पुँजी वृद्धि गर्न पनि शुल्क लाग्ने छैन । साथै कम्पनीको सबै वा केही शेयर पुँजीलाई अड्ढित मूल्यभन्दा बढी वा घटी मूल्यको शेयरमा एकीकृत वा विभाजन गर्न शुल्क लाग्ने छैन । त्यस्तै विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता गर्न पनि शुल्क लाग्ने छैन ।

यी छुट चालु आर्थिक वर्षका लागि मात्र हुने राजपत्रमा उल्लेख छ।