प्रधानमन्त्री देउवाको गृहजिल्लामा मेडिकल कलेज खुल्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाको लागि सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माण गर्न १ करोड रुपियाँ विनियोजन गरिएको छ ।

प्रम देउवा र उहाँकी पत्नी एवं सांसद आरजु राणाले स्थानीय तह निर्वाचन प्रचारका क्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । सोही आधारमा विश्वविद्यालय अनुदान आयोगले बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरेको थियो ।

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज निर्माण, सम्भाव्यता अध्ययन र गुरुयोजना तयार गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । त्यस्तै, प्रम देउवाकै निर्देशनमा धनगढीको गेटा मेडिकल कलेज सञ्चालन गर्न ४४ करोड रुपियाँ बजेट छुट्टयाएको छ ।

दुई दिनअघि धनगढी पुगेका प्रम देउवाले गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्ने बताउनुभएको थियो । प्रम देउवाकै जोडबलमा अर्थ मन्त्रालयले गेटा मेडिकल कलेजका लागि सःशर्त पुँजीगत अनुदान शीर्षकबाट ४० करोड र चालु अनुदान शीर्षकमा ४ करोड रुपियाँ विनियोजन गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *