देशभर चिसो ह्वात्तै बढ्यो

काठमाडौं ! पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौंसहित देशभर चिसो ह्वात्तै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ । ‘तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ,’ मौसमविद् अधिकारीले भने ।

आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौंको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिए ।

जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो ।