मंसिर ४ देखि वाईवाई मिसेज नेपाल वर्ल्डको अडिसन सुरु हुँदै

काठमाडौ ! ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा हुदै आएको सौन्दर्य प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ ।

आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो सौन्दर्य प्रतियोगितामा सामेल भएको छ । विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको उक्त कार्यक्रम ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने उनले बताए । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’ सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ ।

तीनै प्रतियोगिताका लागि आगामी शनिवार पुरानो वानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिनेछ ।

आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।

यता ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यसवर्षदेखि यो प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण आगामी मंसिर ८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । प्रतियोगिताको तयारीमा अन्य ख्यातिप्राप्त विशिष्ट ब्यक्तिहरूद्वारा पनि तालिम प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *