जनार्दन शर्मा प्रकरणमा प्रहरीले छानबिन समितिलाई बुझायो सीसीटीभी हार्डडिस्कको फरेन्सिक रिपोर्ट

काठमाडौं । बजेट निर्माण गर्दा बिचौलिया घुसाइएको प्रकरणबारे अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाले समितिलाई उक्त रिपोर्ट बुझाएको बताएका हुन् ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयबाट सीसीटीभी फुटेज माग गर्दा फुटेज डिलिट भएको मन्त्रालयले जवाफ दिएको थियो । त्यसपछि समितिले हार्डडिस्क रिकभरका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाएको थियो ।

समितिलाई अर्थमन्त्रीमाथि अनुसन्धानका लागि सुरुमा १० दिनको समय दिइए पनि उक्त समयमा समितिले रिपोर्ट बुझाउन सकेको थिएन । त्यसपछि समितिलाई पुनः अनुसन्धान गर्नका लागि ५ साउनमा एक साताका लागि म्याद थप गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *