छाडा पशुबाट बाली जोगाउनै हम्मे, कतिपय किसानले खेती लगाउन छाडे

कैलाली ! कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर्‍याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरूले  छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।

किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्‍याएको बताए । ‘छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ,’ उनले भने, ‘धानबाली पसाउन थालेको छ । यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन् ।’

उनका अनुसार छाडा पशुले आफ्नो मात्र नभई अन्य किसानको बालीमा समेत नोक्सानी गरेका छन् । पशुले बाली सखाप पार्ने डरले कतिपय किसानले खेती लगाउन छाडेका छन् । ‘मेरो छिमेकीले लगातार दुई वर्ष पशुका कारण बाली स्याहार्न नपाएकाले यस वर्ष धानबाली रोपेनन्,’ उनले भने, ‘यसपालि मास र अलहर खेती गरेका छन् । त्यसमा पनि पशुले क्षति पुर्याएपछि दिक्क छन् ।’

छाडा पशु यस क्षेत्रमा दीर्घकालीन समस्याका रूपमा स्थापित हुँदै आएको छ । व्यवस्थापनका लागि केही प्रयास भएका छन् । छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माणदेखि पालनपोषणका लागि केही कार्य गरेका छन्  । ‘सिजनल’रूपमा तत्कालीन समस्या समाधानको प्रयास भए पनि यसको दीर्घकालीन व्यवस्थापन नहुँदा छाडा पशुको समस्या उस्तै रहेको अर्का किसान गणेश उपाध्यायको गुनासो छ ।

छाडा पशुको समस्या समाधानका लागि गत वर्ष गाउँपालिकाले २५ लाख बजेट विनियोजन गरेको थियो भने यस आर्थिक वर्षमा पनि सोही बराबरको रकम विनियोजन गरेको छ । तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन समस्या निराकरणका लागि गाउँपालिकाले सबै पक्ष र सरोकारवालासँग छलफल र समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए । ‘गाउँपालिकाले पशु व्यवस्थापनका लागि सामुदायिक वनसँग समन्वय र जग्गाको खोजी गरिरहेको छ । व्यवस्थापनका लागि सामुदायिक वनसँग प्रस्ताव राखिएको र व्यवस्थापनको जिम्मेवारी लिन चाहनेलाई प्रस्तावसहित आउन आह्वान गरेका छौँ,’ उनले भने, ‘जग्गाको खोजी गर्दैछौँ, कसरी व्यवस्थापन गर्ने भनी गृहकार्य सुरु भएको छ । जग्गाका लागि सामुदायिक वनसँग सहकार्य कसरी गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ ।’

जानकी गाउँपालिकामा करिब एक हजार बढी छाडा पशुचौपाया रहेका छन् । छिमेकी पालिकाबाट आउने पशु नरोक्दासम्म दीर्घकालीन समस्या समाधान नहुने स्थानीय बताउँछन् । कैलालीको टीकापुर नगरपालिकाले भने गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सञ्चालन गरेको गौशाला हाल स्थानीयले व्यवस्थापन समितिमार्फत सञ्चालनको जिम्मा लिएका छन् । गौशालामा करिब छ सय पशु रहेको बताइएको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *