काठमाडौं ! सोमबारको मन्त्रिपरिषदको बैठकले एकै पटक २२ सचिवको सरुवा गरेको छ। सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरुको सरुवा गरेको स्रोतले जनाएको छ।
स्रोतकाअनुसार अर्थमन्त्रालयका दुई सचिव हेरफेर भएको छ। राजस्व सचिव डा रामप्रसाद घिमिरेलाई अर्थसचिवमा ल्याइएको छ भने राजस्व सचिवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश घिमिरेलाई ल्याइएको छ।
त्यस्तै अर्थसचिव रहेका मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयका सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा भएको छ ।
श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणी सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएको छ भने रक्षा मन्त्रालयका सचिव किरणराज शर्माको राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै भौतिक मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा ऊर्जा सचिवमा सरुवा भएको छ भने जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माको दोहोर्याएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ।