मन्त्री स्तरीय भ्रमण दलमा महिला कर्मचारी अनिवार्य

काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा मन्त्री स्तरीय भ्रमण दलमा महिला कर्मचारी अनिवार्य सहभागी हुनुपर्ने विषयले प्रवेश पाएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री स्तरीय भ्रमणमा महिला कर्मचारीलाई अनिवार्य सहभागी गराउनेबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीको यो निर्देशनसँगै अब प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री स्तरीय वैदेशिक भ्रमण टोलीमा कम्तिमा पनि एक जना महिला कर्मचारी अनिवार्य सहभागी हुनेछन् ।

‘मन्त्रीहरूको भ्रमणहरू चलिरहँदा प्रधानमन्त्रीज्यूले भ्रमण टोलीमा महिला कर्मचारीहरू खै त भनेर प्रश्न गर्नुभयो’ एक मन्त्रीले प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रशासनसँग भने, ‘महिलालाई पनि त अवसर दिनु पर्‍यो नि यत्रो महिला कर्मचारी छन् भन्नुभयो’

ती मन्त्रीका अनुसार भ्रमण दलमा महिलालाई समेट्नु पर्ने प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले अत्यन्तै राम्रो निर्णय भनेर प्रशंसा गरेकी थिइन् ।

सोमबारको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ । उद्योग मन्त्री भण्डारी विमस्टेक बैठकमा र खेलकुद मन्त्री चौधरी ओलम्पिक खेल समारोहका लागि फ्रान्स जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पहिलो बैठकबाट नै निमित्त मुख्य सचिव लीला देवी गडतौलालाई कायम मुकायम(कामु) मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेर वाहवाही कमाएका थिए । महिला कर्मचारी मात्रै होइन, सिङ्गो निजामती कर्मचारीले नै इतिहासमै पहिलो पटक महिलालाई नेतृत्व दिएको भन्दै ओलीको प्रशंसा गरेका थिए ।