यी हुन् असार २६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ – सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद आगामी असोज २५ गतेसम्म थपेको छ।

असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।

बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विवकशील मुलुकहरुको समूह (जी२०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको जानकारी दिइन्।

त्यस्तै, सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि मोटा धान प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धान प्रति क्विन्टल, ३ हजार ३ सय ६२ न्युनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ।

यसैगरी नेपाल विद्युत प्राधिकरण, चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत गृहमा रहने संरचना निर्माण कार्यका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नम्बर २ र ३ स्थित करिब ७ हजार ३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने पनि मन्त्रिपरिषदले निर्णय गरेको मन्त्री शर्माले बताइन्।

उनका अनुसार थाइल्याण्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्रमन्त्रीहको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिएको छ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति २०८० असार २६ बाट लागू हुने गरी एक महिना थप गर्ने गरिएको छ। यस्तै, अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका नगरपालिका वडा नम्बर १०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ।

त्यस्तै, सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने, आ.व. २०७८/७९ र २०७९/८० दुई वर्षमा वार्षिक रुपमा न्यूनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आ.व. २०८०/८१ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्चन फुकाउने आदेश जारी गर्ने सरकारको निर्णय छ।

यस्तै, पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गा.वि.स.वडा नम्बर २ स्थित ८९० वर्गमिटर जग्गा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको छ।

मन्त्री शर्माका अनुसार सरकारले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसिचिव लक्ष्मीकुमारी बस्नेतलाई बढुवा गर्ने, वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृति गर्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *