काठमाडौं बसपार्कमा झोला तानेर यात्रुलाई दुःख दिनेहरू धमाधम पक्राउ पर्दै

काठमाडौं ! प्रहरीले शनिबार मात्र नयाँ बसपार्कबाट झोला तानेर दुःख दिने १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये चार जना होटल सञ्चालक छन्।

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख र हैरानी दिने व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्राउ गर्दै आएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले यात्रुलाई जबर्जस्ती झोला तानेर हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले शनिबार मात्र नयाँ बसपार्कबाट त्यस्ता १० जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये चार जना होटल सञ्चालक छन्।

“शुरूको समयमा सम्झाइबुझाई गरेर छाडेका छौं, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौं”, उनले भने। प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उनको भनाइ छ।

नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए।

“यात्रुले शुरूमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौं आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नु हुँदैन,” उनले भने।

संघले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थित रूपमा होटल सञ्चालन गर्नका लागि होटलमा अनिवार्य रूपमा ‘सीसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ। -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *