आर्थिक वर्षको पहिलो महिनामै घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमै व्यापार घटेको छ ।

चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार वैदेशिक व्यापारमा नकारात्मक सूचकसहित चुकेको छ ।

भन्सार विभागले चालू आवको सुरुवाती महिना साउनमा गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक व्यापार घटेको देखाएको छ । विभागका अनुसार गत साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजारबराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४ दशमलव ८१ प्रतिशतले कम हो ।

गत आर्थिक वर्ष २०७८÷७९ मा कुल १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजारबराबरको वैदेशिक व्यापार भएको थियो । निर्यातसँगै आयात पनि घटेकाले यो महिनामा व्यापार घाटा भने १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजारबराबरको भएको छ । यो गत साउनको तुलनामा १० दशमलव ३८ प्रतिशत कम हो ।

गत आव साउनमा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको थियो । हाल, १ सयबराबर वैदेशिक व्यापार भएमा ८९ दशमलव ८६ प्रतिशत आयात र १० दशमलव १४ प्रतिशत निर्यातको हिस्सा रहेको भन्सार विभागले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *