देशभर लागु भयो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं ! स्वास्थ्य बीमा कार्यक्रम देशैभर लागु भएको छ । आइतबार देखि देशभरका सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो ।

हालसम्म काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा मात्र यो कार्यक्रम लागु भएको थिएन । तर, आइतबार देखि सो नगरपालिकामा पनि यो कार्यक्रम लागु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढानिलकण्ठ नगरपालिकाका जेष्ठ नागरिकलाई बीमा प्रमाणपत्र हस्तान्तरण गर्दै उक्त पालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तानी व्यवस्थालाई सरल बनाउन निर्देशन दिए ।  उनले स्वास्थ्य बीमा बोर्डले लागु गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउन निर्देशन दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बीमाको दायरालाई थप बिस्तार गरिएको जानकारी दिए ।