भेरी करिडोरको मुख्य पुर्बाधार तल्नु बेलिब्रिज सञ्चालन

डोल्पा- त्रिदेशीय ब्यापारिक सडक भेरी करिडोरको प्रमुख पुर्बाधारको रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बीचको भेरी नदीमा बनेको उक्त पुल सञ्चालनमा आएको हो ।

भारत, नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरको अन्तर्गतको तल्नु बगर बेलिब्रिजको निर्माणकार्य सम्पन्न भएसँगै पुल सञ्चालमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो ।

तीन बर्षअघि निर्माण सुरु भएको उक्त पुल विविध कारणले ढिलासुस्ती भएपनि आफु डोल्पा आएदेखि जिल्लास्थित राजनितिक दल, प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीहरुको निरन्तर खबरदारीका कारण पुल सञ्चालनमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

‘पुल सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ, मालबाहक गाडीहरु दुनैसम्म पुग्न थालिसकेका छन्, अब बर्खाको समयमा पनि यातायात सञ्चालनमा ल्याउन भेरी करिडोर बिचमा पर्ने केही खोलाहरुमा ह्युम पाइप राख्न पहल समेत भइरहेको छ’- प्रजिअ दाहालले भन्नुभयो ।

‘करिडोरले भारतको रुपैहिडिया नेपालगञ्ज हुँदै डोल्पा-चिनको सिमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडक राष्ट्रिय महत्वको सडक हो, उक्त पुल सञ्चालनमा आउनु सबैका लागि सुखद कुरा हो ।’- उहाँको भनाइ छ ।

करिडोर अन्तर्गतनै पर्ने तल्नुबगर, छलगार्ड र खदागंमा पक्की पुल निर्माणका लागि काम समेत सुरु हुन थालिसकेको उहाँले बताउनु भयो ।

भेरी करिडोर कार्यालय जाजरकोटका नायव सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रबारनै भारवाहन क्षमता परिक्षण गर्दा सफल भएको बताउनुभयो । पुलले २५ टनसम्म भार थेग्न सक्ने पाइएको समेत उहाँले बताउनुभयो ।

तीन बर्ष अघि सडक डिभिजन कार्यालय चौहरजहारीले उक्त बेलिब्रिज पुल निर्माणकालागि ठेक्का खुलाएको थियो । काम सुरु भएको तीन बर्ष पछि पुल सञ्चालनमा आएको हो । २०७८ साल पुषमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक बर्षपछिमात्र काम सुरु गरेको थियो ।

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्ड भित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ । ६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ ।

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने करोपगार्ड, खदाङ्ग, त्रिपुराकोटको बेलिब्रिज पुल यस अघिनै निर्माण भइसकेको छ भने रुपगार्ड खोलाको बेलिब्रिजको काम सुरु भइसकेको छ ।
रुपगार्डको बेलिबृज पुल निर्माण सम्पन्न भएपछि भेरी करिडोर अन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन भने अझै सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ ।

गत बर्ष बैशाख ६ गते निर्माणाधिन तल्नुबगर बेलिब्रिज पुल भाँचिए पछि दुइ जनाको मृत्यु भएको थियो । रासस