बुधबारे कृषि बजारमा बन्ने भयो आधुनिक भवन : नगर विकाश कोष र सुन्दरहरैचा नगरपालिका बीच भयो यस्तो ऋण सम्झौता

काठमाडौं ! नगर विकाश कोष र सुन्दरहरैचा नगरपालिका बीच बुधबारे कृषि बजार आधुनिक भवन निर्माणका लागि ऋण सम्झौता कार्यक्रम सम्पन्न भएको छ।

नगर विकाश कोषको कार्यालयमा आज सम्पन्न ऋण सम्झौता कार्यक्रममा विकाश कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र नगरपालिकाको तर्फबाट मेयर शिव प्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो।

आफ्नै स्वामित्वमा रहेको जग्गामा व्यवस्थित तवरले बुधबारे कृषि बजारलाई व्यवस्थापन गर्नलाई नगरपालिकाले उक्त आधुनिक भवन निर्माण गर्ने योजना बनाएको थियो। नगरपालिकाको योजना सहित उक्त सपनालाई साकार पार्न नगर विकाश कोषले साझेदारी गरेको छ। नगरपालिकाले उक्त आधुनिक कृषि बजार भवन निर्माणको लागि करिब १४ करोड, २६ लाख,८८ हजार बजेटको इस्टिमेट तयार गरेको हो।
उक्त कुल लागत मध्य नगर विकाश कोषले ८० प्रतिशत र नगरपालिकाले २० प्रतिशत लगानी गर्नेछन। उक्त कुल लागतको करिब ११ करोड,४१ लाख,५० हजार बराबर रकम विकाश कोषले लगानी गर्नेछ भने २ करोड,८५ लाख,३८ हजार सुन्दरहरैचा नगरपालिकाले स्वयंले लगानी गर्नेछ।

करिब २० बर्षको ऋण सम्झौता अनुरुप सम्झौता भएको २ बर्ष सहुलियत अवधि र बाकी १८ बर्षमा ३६ किस्ता गरेर ८% व्याजदरले सावाँ सहित नगरपालिकाले उक्त रकम कोषलाई चुक्ता गरिसक्नु पर्नेछ।पुर्वाधार विकाश कार्यक्रम अन्तरगत नगर विकाश कोषले देशका विभिन्न स्थानिय तहहरुमा विकाशका लागि साझेदारी गरिरहेको छ।

आज भएको सो सम्झौतापछि अब भवन निर्माणको लागि बजेट सुनिश्चित भैसकेकोले नगरपालिकाले नगर विकाश कोषको समन्वयमा टेन्डर प्रक्रिया अघि बढाउनु पर्नेछ। टेन्डर सम्झौता भएपछी करिब २ बर्ष सम्ममा उक्त भवन निर्माण गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ।

उक्त सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट मेयर शिव प्रसाद ढकालले हाम्रो लागि यो सम्झौता हुनु गौरवको कुरा भएको बताउनु भयो। लामो समयदेखिको मेहनतले आज सार्थकता पाएकोमा आफू लगायत नगरपालिकाको टिम अत्यन्त खुसी रहेको बताउनु भयो।साथै उहाँले नगरपालिकाको कामहरु मध्ये यो नौलो र जनताले प्रत्यक्ष अनुभुत गर्न सक्ने खालको काम भएकोले आफु यो सम्झौता हुदा अत्यन्त हर्षित भएको बताउनु भयो। सम्झौतापछि नगरपालिकाले आयोजनालाई पारदर्शीता साथ अघि बढाउने प्रतिबद्धतापनि व्यक्त गर्नुभयो।

उक्त अवसरमा कोषका तर्फबाट कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगर विकाश कोषको उद्देश्य भनेको नगरपालिकाहरुलाई प्राविधिक र आर्थिक रुपले सहयोग पुर्याउनु नै रहेको प्रस्ट्याउनु भयो।नगरपालिकाहरुले जुन कन्सेप्टले योजना तयार पार्छन,त्यस योजनालाई सफल पार्नु कोषको दायित्व भएको बताउनु भयो। कृषि पुर्वाधारमा कोषले लगानी गर्न पाउँदा आफुपनि उत्साहित भएको प्रतिक्रिया दिनुभयो।“कृषि पुर्वाधार लगानी गर्नुपर्ने महत्त्वपूर्ण क्षेत्र हो। बुधबारे हाल चलिरहेको बजार क्षेत्र भएकाले यस क्षेत्रमा व्यवस्थित तवरले आधुनिक कृषि भवन निर्माणमा जुट्दा सिङ्गो नगरबासीलाई नै फाइदा पुगेको छ । आयोजनाका हिसाबले पनि यो ठूलो योजना हो,यो जनताले अनुभुत गर्न पाउने किसिमको प्रोजेक्टमा लगानी गर्न आह्वान गर्ने नगरपालिका र हाम्रो कोषकै लागि गौरवको बिसय बनेको छ त्यसैले सबैले मिलेर यो योजनालाई समयमै सफल पारौ।´´उहाँले भन्नुभयो।

आजै यस अघि नगर विकाश कोष र दशरथचन्द नगरपालिका(बैतडी)बीच आधुनिक भवन निर्माणका लागि ऋण सम्झौता कार्यक्रम सम्पन्न भएको थियो। विकाश कोषले भोलिपनि यस्तै किसिमको ऋण सम्झौताका लागि अर्को नगरपालिकासंग कार्यक्रम राखेको बताइएको छ।                                                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *