सुरु भयो मुग्लिन–मलेखु सडकखण्ड स्तरोन्नतिको काम

काठमाडौं ! मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम शुरू भएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो ।
३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआईसीजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुंगा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए । पहिलो चरणमा ५ किलोमिटरमा काम भइरहेको छ ।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति हुनेछ । सडक विस्तार र स्तरोन्नतिपछि न्यूनतम ९ मिटर कालोपत्र हुनेछ । बजार क्षेत्रमा भने ४ देखि ६ लेनको सडक निर्माण हुने कार्कीले जानकारी दिए ।

बजार क्षेत्रमा फुटपाथ, डिभाइडर र बत्तीको पोल समेत निर्माण गरिने छ ।

यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ । काम पनि सँगै शुरू भइसकेको छ । मलेखुसम्म ६ पुल निर्माण हुनेछन् । गोमती, चरौदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्नेछन् । खटौटीमा पुल निर्माण अघि बढेको छ ।

यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिनेछन् । मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझीमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन् ।

आयोजनाको यो खण्ड ४ अर्ब ८० करोडको लागतमा विस्तार र स्तरोन्नति गर्न लागिएको हो । केही ठाउँमा रुख काट्न बाँकी छ । यो खण्डमा करीब ३५० रुख काटिने छन् ।

‘यो सडकखण्ड निर्माण गर्दा पहाड काट्नेभन्दा पनि नदी किनारमा पर्खाल उठाउने कुरालाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘पहाड काट्दा सधैं पहिराले दुःख दिने सम्भावना हुन्छ ।’

सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा सडक २० वर्ष टिक्ने गरी डिजाइन भएको आयोजनाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *