सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित र सहज बनाउन नगरपालिकाको बहु–प्रतिष्ठित एकीकृत भवनको शिलान्यास गरिएको छ । नेकपा एमालेका ईन्चार्ज एवम् कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल, नगर–प्रमुख मोहनमाया ढकाल र निवर्तमान नगर–प्रमुख देवकुमार सुवेदीले सामूहिक रुपमा नगरपालिकाको भवन शिलान्यास गरेका हुन् ।
हाल नगरपालिका भवनबाट सेवा प्रवाहमा असहजता भएपछि नयाँ भवन सिलान्यास गरिएको छ । १० करोड ७१ लाख लागत लाग्ने अनुमान गरिएको भवनमा लिफ्टसहित पाँच तलाको रहने छन् । नयाँ बन्न लागेको भवन लिफ्टसहित अपाङ्गमैत्री हुने नगरपालिकाले जनाएको छ । सिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मोहनमाया ढकालले संविधानले स्थानीय तहलाई सेवा प्रवाह गर्ने निकायका रुपमा परिभाषित गरेको उल्लेख गरिन् । उनले सेवाग्राहीको बढ्दो चापले हाल सञ्चालनमा रहेको भवनबाट सेवा दिन अफ्ठ्यारोस्थिति सिर्जना भएपछि नगरपालिकाले नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिइन् ।