जलेश्वर विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा

महोत्तरी । जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि केन्द्रबाट हुने गरेको सम्पूर्ण आय सङ्कलन काउन्टर भएको जनाइएको छ ।

शाखा प्रमुख वीरेन्द्र झाले वितरण केन्द्रको सबै सेवा पूर्ववत नै सञ्चालनको तयारी भएको जानकारी दिनुभयो ।

काउन्टर बन्द हुँदा यस केन्द्र मातहतमा रहेका ३५ हजार मिटर तथा तिनका ग्राहकले विद्युत् महसुल बुझाउन नपाएर हैरानी व्यहोरिरहेका छन् ।

मासिकरूपमा विद्युत् महसुल बुझाउन केन्द्रमा आउने गरेका सेवाग्राही बिल नै नबुझाइ फर्किनुपरेको छ भने विद्युत् महसुल बुझाउन चाहने सेवाग्राहीलाई केन्द्रका कर्मचारीले गत वैशाख महिनादेखिकै बिल लिएर आएपछि मात्रै नयाँ बिल बुझ्ने जनाउँदै फर्काउने गरेका छन् ।

जलेश्वर नगरपालिका वडा नं २ का सेवाग्राही दीपक गुप्ताले केन्द्रको सर्भरमा समस्या आउँदा विद्युत महसुल बुझाउन नपाएको गुनासो गर्नुभयो ।

जलेश्वर–२ का शिवचन्द्र चौधरीले केन्द्रमा अहिले दैनिक महसुल बुझाउनेको भीड लाग्ने, दैनिक प्रहरी र सेवाग्राही, कर्मचारी तथा सेवाग्राहीको बीचमा भनाभन र गालीगलौजसमेत हुने गरेको छ ।

केन्द्रमा दैनिक हुने विभिन्न हो–हल्लाले गर्दा यस वितरण केन्द्रबाट हुने नयाँ मिटर वितरण, मिटरमा देखिएका समस्या समाधान, उपकरण जडानलगायतका कामकाज हुन नपाउँदा सेवाग्राही थप समस्यामा परेका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।

– रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *