भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट खरिद गरेका करिब १ अर्ब रूपैयाँका उपकरणको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको छ ।

भन्सार जाँचपासका क्रममा मूल्यमा शंका लागेर सर्भर, ल्यापटप, सेल फोनलगायत उपकरण थप अनुसन्धानका लागि रोकेको विभागले जनाएको छ ।

प्राधिकरणले ती सामग्री दूरसञ्चारको ट्राफिक अनुगमन र चोरी नियन्त्रणका लागि खरिद गरेर ल्याएको हो।

प्राधिकरणले खरिद गरेर ल्याएका सामानमा १ सय ९ वटा सर्भर छन् । खरिद गरिएका प्रतिसर्भरको मूल्य ७९ हजार ९ सय २० डलर भनिएको छ ।

एक डलरको सटही दर १ सय २८ रूपैयाँले हिसाब गर्दा एउटै सर्भरको मूल्य १ करोड २ लाख २९ हजार ७ सय ६० रूपैयाँ हुन्छ । १ सय ९ वटा सर्भरको कुल मूल्य १ अर्ब ११ करोड ५० लाख ५३ हजार हुन आउँछ ।

त्यसैगरी दुईवटा ल्यापटप पनि खरिद गरिएका छन् । एउटा ल्यापटपको मूल्य ५० हजार डलर अर्थात् ६४ लाख रूपैयाँ देखाइएको छ ।

प्राधिकरणले ती ल्यापटप भई ड्राइभ टेस्ट भएको जनाएको छ । त्यस्तै भन्सार विभागले रोकेका उपकरणमा आठवटा सेल फोन पनि छन् ।

एउटा सेल फोनको मूल्य २ सय डलर अर्थात् २५ हजार ६ सय रूपैयाँ देखाइएको छ ।

प्राधिकरणले ती उपकरण ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टमु परियोजनाअन्तर्गत खरिद गरेको हो । ती उपकरण भेनराइज सोलुसन कम्पनीले लेबनानबाट ल्याएको हो।

ती उपकरणको भन्सार महसुल करिब पौने १५ करोड रूपैयाँ लाग्ने अनुमान छ । यो समाचार नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *