बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौ ! नेपाल राष्ट्र बैंकले बुधबार पनि बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले उक्त रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो । केन्द्रीय बैंकले बुधबार २१ दिने अवधिका लागि अवधिको उक्त रकम निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले बुधवार अपरान्ह ३ बजे बोलकबोल गर्ने बताएको छ ।

उक्त अवधिको निक्षेप संकलन उपकरणको आगामी असोज २३  गते साँवा तथा ब्याज भुक्तानी गरिने सूचनामा उल्लेख छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्नुपर्नेछ ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले उक्त रकमलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । केन्द्रीय बैंकले यसअघि भदौ महिनामा पनि लगातार सात पटक तरलता खिचेको थियो ।