राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं ! राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३५ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने अन्यथा ट्रेड युनियन ऐन अनुसार अगाडि बढ्ने बताए ।कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हक हितको लागि उठाइएका मागप्रति महासंघ सँधै साथमा रहेको बताए ।

वार्षिकोत्सवको अवसरमा संघले राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारीहरुको उत्पादकत्व विषयमा कर्मचारीहरु बीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । निबन्ध प्रतियोगितामा महेशराज भट्ट प्रथम, भावना शर्मा द्धितीय र रुद्रप्रसद अधिकारी तथा राकेशकुमार राय तृतीय भएका थिए ।

साथै उक्त अवसरमा म्युजिकल चेयर खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । सो खेलमा प्रथम बसन्ता पन्थी, द्धितीय अनिषा खनाल र तृतीय दिक्षा खड्का थिए ।संघको वार्षिकोत्सवको अवसरमा महिला कर्मचारीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बैंकको केन्द्रीय कार्यालय परिसरमा सेनीटरी प्याड भेन्डिङ्ग मेसीन सञ्चालनमा ल्याइएको छ ।

कर्मचारी संघ नेपालका महासचिव रबिन्द्रप्रसाद चौलागाईंले संचालन गरेका उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सनाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, उप्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारीहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति थियो ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।