नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन हस्तान्तरण

काठमाडौं ! नबिल बैंकले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन हस्तान्तरण गरेको छ । मंगलबार एक विशेष कार्यक्रमका बीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमका लागि ती वाहन हस्तान्तरण गरिएको हो ।

कम्पनीका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा ती वाहनको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्ने क्रममा मानव सेवामा उत्कृष्ट काम गरेको उक्र आश्रमलाई सहयोग उपलब्ध गराएको बताएको छ ।उक्त अवसरमा कम्पनीका अध्यक्ष पौड्यालले मानव सेवा आश्रमको कार्य सराहनीय रहेको उल्लेख गर्दै यस्तो संस्थालाई सघाउन पाउँदा खुसी लागेको बताए ।

यसैगरी, कम्पनीका सीईओ ढुंगानाले नबिल बैंक सधैं मानव सेवाका कार्यहरूमा तयार रहेको बताए । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए ।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडकमा आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाएका थिए । मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पुर्‍याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसहरूलाई सवारी साधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन् ।

सो अवसरमा कम्पनीका पदाधिकारीहरुले आश्रममा बस्दै आएका लाभग्राहीहरूलाई खानासमेत वितरण गरेका थिए ।