नबिलको आफ्नै नियो बैंकः ३० सेकेन्डमै खुल्छ खाता, फोनबाटै पाइन्छ लोन

काठमाडौं ! नबिल बैंकले आफ्ना ग्राहकहरुले पैसासँग सम्बन्धित सबै कामहरु एउटै एपबाट गर्न सकुन् भनेर २०२२ को २२ डिसेम्बरदेखि एन बैंक (नियो बैंक) सञ्चालन गरेको छ । एन बैंक भनेको नबिल बैंकको मोबाइल बैंकिङ एपलाई नयाँ तरिकाले तयार गरिएको नयाँ एप हो । यो एप अरु बैंकको मोबाइल एप भन्दा फरक रहेको बैंकले जनाएको छ ।

एन बैंक नेपालमा पहिलो पटक नबिल बैंकले सञ्चालनमा ल्याएको हो । जसमा नबिल बैंकका ग्राहकले हरेक सुविधा पाउने गरेका छन् । छोटो समयमा नै यस बैंकले सबैको मन जित्न सफल भएको देखिन्छ । किनकी हालसम्म यो एप डाउनलोड कर्ता नै १० लाख भन्दा बढी छन् ।

नियो बैंकको अर्थ भर्चुअल बैंक भन्ने हुन्छ । नबिल बैंकले एन बैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो । एन बैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्याउने बैंकले विश्वास गरेको छ ।

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको प्रयोगले एन बैंकको उपयोग मार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । एन बैंक मार्फत् नयाँ खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका कामहरू गर्न सकिन्छ ।

यस्ता छन् एन बैंकका विशेषताहरू

अनलाईन खाता ३० सेकेन्डमै खोल्न सकिने  

सबै मानिसले बैंकमा खाता खोल्न प्रोसेस लामो हुन्छ, कागजातहरु धेरै चाहिन्छ, लामो लाईन बस्नु पर्छ भन्नेर झन्झट मान्ने गरेका छन् । यस्तो समस्यालाई समाधान गर्न नबिल बैंकले आफ्नो एन बैंक एपबाट ३० सेकेण्ड भित्रै एन सेभिङ खाता खोल्न सक्ने व्यवस्था मिलाएको छ । खाता खोल्नको लागि ग्राहकले बैंकमा जस्तो लामो फारम भर्नु पर्दैन । खाता खोल्न ग्राहकको आफ्नो नाम, जन्म मिति, ईमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भए पुग्छ ।

यसरी खोलिएको खाताबाट केवाईसी गर्नु भन्दा पहिला पनि रु १ लाख सम्मको कारोबार गर्न सकिन्छ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नु भन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ । १५ दिन पछि केवाईसी अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने हुन्छ । यदि गरिएन भने आफ्नो खाता फ्रिज हुन सक्छ । केवाईसी पनि आफ्नो एनबैंक एपबाट सिधै गर्न सकिने छ । केवाईसी भरिसकेपछि बैंकका कर्मचारीले यसलाई भेरिफाइ गर्छन् । त्यसपछि, भिडियो केवाईसी मार्फत आफ्नो खाता फुल एक्टिभेट गर्न सकिने छ ।

डिजिटल ऋण

ग्राहकहरूले आफ्नो एन बैंक एपबाट सिँधै ऋणको लागि डिजिटल आवेदन दिन सक्नेछन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । यो लोन लिन कुनै पनि कागजातको आवश्यकता पर्दैन । बैंकले ग्राहकको ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोन लोन दिन्छ । ग्राहकले कतिसम्म लोन तिर्न सक्ने क्षमता छ भनेर सिस्टमले नै देखाइदिने गर्छ । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् । ग्राहकको एन बैंक एपबाट सिधै तोकिएको सीमासम्म आवेदन दिन सकिनेछ ।

साथै, ग्राहकको फिक्स डिपोजिटको आधारमा पनि लोन लिन सक्नेछन् । बैंकले फिक्स डिपोजिटको ९० प्रतिशत सम्म लोन दिने छ । र क्रेडिट कार्ड लिनको लागि भने आफ्नो बैंक स्टेन्टमेन्ट र तलबको सर्टिफिकेट चाहिन्छ । यसको आधारमा ग्राहकले कति सम्मको क्रेडिट कार्ड लिन पाउछन् भनेर हेर्ने गरिन्छ । हेरिसकेपछि ग्राहकलाई ईमेलमार्फत सम्पर्क गर्ने गरिन्छ ।

एन–रेमिट साथै अन्तराष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा

नेपालभित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एन रेमिटको प्रयोग मार्फत आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिँधै नबिल बैंकको खातामा पैसा पठाउन सक्नेछन् । पैसा पठाउने र पैसा पाउनेको विवरण सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछन् । यसको प्रयोग मार्फत अन्य देशबाट नै आफ्नो घरको, बिजुलीको, पानीको बिल तिर्न पनि सकिने छ ।

साथै, विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् ।

२४ सैँ घण्टा सातै दिन सेवा

बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवा प्रदान गर्ने बताएको छ । एन बैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्न यो सुविधा सञ्चालनमा ल्याएको हो ।

साथै, ग्राहकले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरूको होस्टको लागि आवेदन दिन सक्छन् । जस्तैः नयाँ डेबिट कार्ड, डलर कार्ड, क्रेडिट कार्ड, व्यक्तिगत ऋण आवेदन लगायतका कामहरू पनि मोबाइल एपबाटै गर्न सकिनेछ । काठमाडौंभित्र नै भए एटीएम पनि आफ्नो कुरियर पार्टनर मार्फत घरमा वा अफिसमा पुुर्याउने व्यवस्था बैंकले गरेको छ । यदि ग्राहक बसेको ठाउँमा यसको व्यवस्था गरिएको छैन भने नजिकैको शाखामा गएर लिन सक्नेछन् ।

डेविडकार्ड विना नै पैसा निकाल्न मिल्ने 

एटीएम विवरण आफ्नो एन बैंकमा एड गरेपछि विना एटीएम कार्ड नै एटिएमबाट पैसा निकाल्न सकिने छ ।

यसबाहेक, एपबाट नै बैंकको सम्पर्क, ब्याजदर, विनिमय दर, ईएमआई क्याल्कुलेटर एन बैंकमार्फत् ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा प्रयोग गर्न सक्नेछन् । यो सँगै अब एन बैंकमार्फत फोनपे मार्फत विभिन्न अनलाइन भुक्तानी पनि गर्न सक्नेछन् ।

यदि एपमा कार्ड एड गरेको छ भने कार्ड हराएको खण्डमा आफैँले ब्लक पनि गर्न मिल्छ । भर्खरै लिएको कार्डको पिन सेट पनि एपबाट नै गर्न सकिन्छ ।

अनलाइन सपिङको व्यवस्था 

यदि कसैले अनलाइन किनमेल गर्न परेमा एन बैंकबाट नै गर्न सकिन्छ । यसको लागि दराज र सिजि डिजिटल जस्ता अनलाईन सपिङका माध्यमलाई पनि एन बैंकले समावेश गरेको छ । मार्केट बेस बनाउनको लागि नबिल बैंकले एन बैंकबाट सपिङ गर्दा धेरै अफरहरु पनि राखेको छ । भावी दिनमा ग्राहकलाई सहज बनाउन यस्ता धेरै प्लेटफर्मलाई पार्टनर बनाएर एन बैंकमा जोड्दै जाने बैंकको भनाई रहेको छ ।