कृषि विकास बैंकले गर्‍यो भूकम्प पीडितहरुका लागि ५० लाख सहयोग

काठमाडौं ! कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख सहयोग गरेको छ । भूकम्पपछिको खोज, उद्धार र राहतका लागि बैंकले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरेको जनाएको हो । उक्त चेक कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका स्वकिय सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंक लि.ले  भूकम्पबाट प्रभावित र पीडित लाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले धन्यवाद ज्ञापन गरेका छन्।

कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।