काठमाडौं ! सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्ने निर्णयमा सरकार पुगेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा हालै सम्पन्न वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैङ्क स्थापनाको कानुनी आधार तयार गर्ने निर्णय गरेको हो । समितिले नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐनहरू संशोधनको प्रक्रियालाई शीघ्रता दिने निर्णय पनि गरेको छ । त्यस्तै वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारको विषयमा सम्बन्धित निकायले नीति एवं कार्यविधि तर्जुमा प्रक्रिया तत्काल अगाडि बढाउने समितिको निर्णय रहेको खबर गोरखापत्रमा छापिएको छ ।