राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै

काठमाडौँ !  नेपाल राष्ट्र बैङ्कले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो।

यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुने र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिदका लागि प्रस्ताव गर्न सक्नेछन्।

विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलका लागि भदौ २४ गते अपराह्न ३ बजेसम्मको अवधि तोकिएको छ भने भदौ २५ गते सोमबार निष्कासन हुनेछ। यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुनेछ। ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुने र आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैङ्कले जनाएको छ।

यो विकास ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी हुन सकिने छ। प्रतिस्पर्धी बोलबालालाई कुल निष्कासित रकमको ८५ प्रतिशत अर्थात रू आठ अर्ब ५० करोड अप्रतिस्पर्धी बोलबालालाई १५ प्रतिशत अर्थात रू एक अर्ब ५० करोड बराबरको ऋणपत्र छुट्याइएको छ।

घटीमा रू ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइकन रू ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ। यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्कट एक्सचेञ्ज लिमिटेडमार्फत हुने राष्ट्र बैङ्कले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *