नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा योजना’

काठमाडौं ! नबिल बैंकले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवस जुन ५ तारिखको पूर्व सन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि सारेको बैंकले जनाएको छ।यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने नबिल बैंकको विश्वास रहेको छ। नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने बैंकको विश्वास छ ।

बैंककाअनुसार नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ । यस स्किमले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ । दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।

वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकहरूले यस योजना अन्तर्गत आवास कर्जा लिन सक्नेछन् । बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०।४९ प्रतिशतमा नै प्राप्त गर्न सक्नेछन् ।

सात बर्ष भन्दा बढि अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०।४९ प्रतिशत र सात बर्ष पछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधार दरमा १ दशमलब ५ प्रतिशत जोडि हुने व्याजदरमा प्राप्त गर्न सक्नेछन् ।  साथै यस स्किम अन्तर्गत ग्राहकले सेवा शुल्कमा पनि आकर्षक सहुलियत पाउनेछन् भने १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराईनेछ ।

यस कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्ष सम्ममा चुक्ता गर्न सक्नेछन् । यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ । यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गई रहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने छ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सिएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनु पर्ने उल्लेख छ ।

यो कर्जा, वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न, वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिइ वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न तथा यस बैंक बाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भई सकेको घरमा वातावरण मैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्नेछन्।  यस कर्जा उपयोग गर्ने प्रक्रिया अन्य घर कर्जाहरू जस्तै सरल हुनेछ । न्यूनतम कर्जा सीमा रु सात लाख र अधिकतम सीमा रु पाँच करोड हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *