तरलता सहज गर्न राष्ट्र बैंकले २० अर्बको रिपो जारी

काठमाडौं ! नेपाल राष्ट्र बैंकले बिहिबार २० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकले बिहिबार १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो  ।

आगामी चैत्र २ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले आवश्यकता अनुसार रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन्  ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन्।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।  तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ । खुलाबजार कारोबारका उपकरणहरू अर्न्तर्गत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *