नबिल बैंकको साढे ५६ प्रतिशतले बढ्यो नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म नबिल बैंकको नाफा ५६.६७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको हो ।

गत असार २७ गतेबाट नेपाल बङ्गलादेशलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेकाले पनि यस वर्ष गत वर्षको भन्दा नाफामा उलेख्य वृद्धि भएको देखिन्छ । बैंकले ६ महिनाको अवधिमा सात अर्ब ८३ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले ब्याज आम्दानी बापत चार अर्ब २१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकले सञ्चालन नाफामार्फत चार अर्ब ६ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्ष यस्तो मुनाफा तीन अर्ब ११ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै बैंकको खराब कर्जा बढेको छ । गत वर्ष १.११ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पुस मसान्तसम्म २.९ कायम भएको छ ।

बैंकको चुक्तापुँजी २७ अर्ब ६ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । बैंकको जगेडा कोषमा २५ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ ।

बैंकले पुस मसान्तसम्म तीन खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने तीन खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *