नेपालमै पहिलो पटक नबिल बैंकले सुरू गर्‍यो​ एनबैंक सेवा : यस्ता छन् सुविधाहरु

काठमाण्डौ ! नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा एनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ ।

नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैंकिङमा महत्वपूर्ण योगदान पु¥याउने बताए । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एनबैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्नेछ । ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ्ग ल्याएको छ ।’ उपभोक्ताले विश्वस्नीयता र व्यक्तिगत अनुभवद्वारा मूल्याङ्कन गर्ने बताउँदै उनले भने, ‘एनबैंक कुनै पनि भौतिक शाखाविनाको निजीकृत भर्चुअल बैंकिङ हो ।’

एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एनसेभिङ् खाता खोल्न सकिनेछ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन् ।
२. डिजिटल ऋण
ग्राहकहरूले आफ्नो एनबैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ ।
ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एनबैंक एपबाट सीधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन् । यसको लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन ।
३. एन–रेमिट
नेपाल भित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछ ।
४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् ।
५. २४ सै घण्टा सातै दिन सेवा
बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवा प्रदान गर्नेछ । एनबैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *