बहुमतले पारित भयो सरकारको बजेट

काठमाडौं ! प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८० (बजेट) बहुमतले पास भएको छ। सुरुमा सभामुखले ध्वनी मतको आधारमा बहुमतले बजेट पारित भएको घोषणा गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन माग गरेपछि मत विभाजन गरेर बहुमतको आधारमा बजेट पारित भएको हो ।

आज संसदमा कुल २५५ सांसद सहभागी भएकोमा बजेटको पक्षमा १४७ सांसद र विपक्षमा १०८ मत परेको छ । मत दिन्न भन्नेमा कुनै मत परेन।

बजेटको पक्षमा मतदान गर्न नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस र जसपाले ह्विप नै जारी गरेका थिए । नेकपा एमाले, रास्वपा , राप्रपा, नेमकिपा, लगायतका दलले बजेटको विपक्षमा मतदान गरेका हुन् ।

बजेट पारित गर्नु अघि विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमा सांसदहरुबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। सबै खर्च कटौतीका प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । त्यसपछि अर्थमन्त्री डा. प्रकाश  शरण महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भनी प्रस्ताव पेश गरेका थिए । जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयमा उनको लिखित बक्तब्य समावेश गरेर बजेट पारित भएको हो  ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *