बजेट खर्च- लक्ष्यभन्दा ५१ अर्ब कम

काठमाडौँ । दुई पटक संशोधन गरेर लक्ष्य घटाउँदा पनि बजेट खर्च गर्न सरकार असफल भएको छ । आव २०७८/७९ मा सरकारले सुरुमा १६ खर्ब ३२ अर्ब ८२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य राखेको थियो । तर, शनिबार आर्थिक वर्ष अन्त्य हुँदासम्म सरकारको कुल खर्च १२ खर्ब ९६ अर्ब २४ करोड रुपियाँ मात्र पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ । यो सुरु लक्ष्यको ७९.३९ प्रतिशत मात्र हुन आउँछ ।

सुरुमा तोकिएको कुल बजेट खर्च हुन नसक्ने भन्दै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा दोस्रो पटक संशोधन गरिएको लक्ष्यअनुसार पनि सरकारले खर्च गर्न सकेन । सरकारले बजेट संशोधन गर्दै समीक्षा अवधिमा सुरु बजेटको ८८.६ प्रतिशत अर्थात् १४ खर्ब ४७ अर्ब ५१ करोड खर्च हुने लक्ष्य तोकेको थियो । आर्थिक वर्ष समाप्त हुँदासम्म सरकारले संशोधन गरेभन्दा एक खर्ब ५१ अर्ब २७ करोड रुपियाँ कम खर्च भएको हो ।

सरकारले कुनै पनि शीर्षकको संशोधित खर्च लक्ष्य पनि पूरा नगरेको कार्यालयको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष चालू शीर्षकका लागि सुरु बजेटमा १० खर्ब ६५ अर्ब २९ करोड रुपियाँ विनियोजन भएकोमा नौ खर्ब ६१ अर्ब १४ करोड रुपियाँ मात्र खर्च भएको छ । पछिल्लो पटकको संशोधनमा सरकारले नौ खर्ब ७१ अर्ब ८६ रुपियाँ खर्च हुने अनुमान गरेको थियो । आर्थिक वर्ष पूरा हुँदासम्म संशोधित बजेटभन्दा १० अर्ब रुपियाँ कम खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *