जनभावना विपरीत वाग्मती प्रदेशमा मन्त्रालय टुक्र्याइयो

काठमाडौं ! सुशासन र पारदर्शिताको नारालाई जोड दिँदै आएका वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । यसका लागि उनले मन्त्रालय फुटाउन सुरु गरेका छन् । मन्त्री आकांक्षी बढेपछि सरकारले जम्बो टोली तयार गर्न लागेको हो । प्रदेशमा हाल कायम रहेको ८ मन्त्रालय फुटाएर १४ वटा बनाउन लागिएको छ ।

मन्त्रिपरिषद् निर्णयअनुसार मन्त्रालय थप्दै राजपत्रमा सूचनासमेत प्रकाशन गरिएको छ । हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइने भएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई गठबन्धनभित्रका दलहरूलाई भागबन्डा मिलाउन मन्त्रालय थप गरिएको हो ।

गठबन्धनमा नेकपा (एकीकृत समाजवादी), नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस छ । पाण्डे नेतृत्वको प्रदेश सरकारको आन्तरिक ममिला तथा कानुनमन्त्रीमा कृष्ण खनाल, आर्थिक ममिला तथा योजनामन्त्रीमा शालिकराम जम्कट्टेल र स्वास्थ्यमन्त्रीमा निमा लामा, सामाजिक विकासमन्त्रीमाकुमारी मुक्तान छन् ।

यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित ८ मन्त्रालय बनाएको थियो । पूर्वमुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार करिब चार वर्ष सात सदस्यीयमा सीमित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *