बागमती किनार अतिक्रमणको चपेटामा

काठमाडौँ । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग-यो तर खाली भने भएनन् ।

समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै आयो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ वैशाखमा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो तर एक महिनामै बस्ती थप विस्तार भयो ।

पटक–पटक सूचना जारी गरी हटाउने पहल गर्दा पनि असफल भएपछि समितिले दुई चरणमा खाली गर्ने योजना बनाएर काम अघि बढाएको छ । यसअघि पहिलो चरणमा गुह्येश्वरीदेखि गोकर्णसम्म क्षेत्रको नदी किनारका अस्थायी संरचना भत्काइएको थियो । समितिका सूचना अधिकारी कमल अर्यालले भन्नुभयो, “गोकर्णदेखि गुह्येश्वरीसम्मको नदी किनार र कोरिडोरको बीचमा रहेका २६ वटा अनधिकृत अस्थायी संरचना भत्काइएको छ, अब दोस्रो चरणमा तिलगङ्गादेखि थापाथलीसम्मका संरचना हटाउन सूचना जारी भएको छ ।”
माघ २१ गतेसम्म स्थायी प्रकृतिका संरचना हटाउन सूचना जारी भएको छ । तोकिएको समयमा नहटाइए समिति आफँैले हटाउने अर्यालको भनाइ छ । उहाँका अनुसार तिलगङ्गादेखि थापाथलीसम्म ३१ वटा अनधिकृत स्थायी तथा अस्थायी संरचना रहेको र ती हटाउनका लागि चिह्न लगाइएको छ ।

समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले भन्नुभयो, “नदी किनारका अव्यवस्थित बसोबास थप समस्याका रूपमा वृद्धि भएको छ । विकास निर्माणका काम रोकिएका छन्, पहिलो चरणमा अनधिकृत टहरा भत्काउने छौँ, दोेस्रो चरणमा बस्ती खाली गरिने छ ।” बस्तीले नदीको दायाँ बायाँ किनारमा ढल तथा बाटो निर्माणमा अवरोध भएको उहाँको भनाइछ । नदी किनारमा बाढी रोक्न पर्खाल लगाउने काम बस्तीका कारण हुन सकेको छैन । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *