मेलम्ची बाढीबाट प्रभावितहरू अझै अस्थायी टहरामै

काठमाडौं ! विक्रम संवत् २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको २ आज वर्ष पूरा भएको छ । असार १ र त्यसपछिका पटक–पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो ।नदी तटीय क्षेत्रका सयौं घर र खेतीयोग्य जमिन बगर बने भने हजारौं नागरिक विस्थापित भए ।

बाढीले क्षति पुर्‍याएको २ वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन् । उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन् । मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन् । बाढीले उनको घरसहित भएको थोरै जमिन समेत बगर बनेपछि सुुकुम्बासी बनेकी छन् । सरकारले घर बनाइदिने भनेको २ वर्ष बितिसक्दा समेत अस्थायी टहरामै बस्न बाध्य उनलाई दैनिक गुजारा चलाउन समेत धौंधौं परेको छ ।

हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती २ वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउँछन् । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन् ।

नदी तटीय क्षेत्रका वासिन्दाको कथा पनि उस्तै छ । नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गरिन् । उनले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाए ।

बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै ३९२ जना लाभग्राही कायम भएकोमा हालसम्म २७५ जनाले मात्र पहिलो किस्ता पाएका छन् । मेलम्ची नगरपालिकामा कायम भएका २७१ लाभग्राहीमध्ये २४५ जनाले पहिलो, २८ जनाले दोस्रो र १ जनाले मात्र अन्तिम किस्ता पाएका छन् ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत १७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन् । जिल्लामा बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका १ हजार ५७९ लाभग्राहीमध्ये हालसम्म ७७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र ७ जनाले अन्तिम किस्ता रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउँछन् ।

उनले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताए । उनले घर बनाउन दिने भनेको ५ लाख रुपैयाँ रकम कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको बताए । ५ लाखले घर बनाउन अपुग भएको शेर्पाको भनाइ छ ।

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्व सूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीयको ठम्याइ छ । यस्ता प्राकृतिक विपद्को पूर्व सूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्व तयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ । उनले पूर्व सूचना प्रणाली जडान, वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएकोे बताए ।

विक्रम संवत् २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै ५५१ घर बाढीले बगाएको थियोे । ५ हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको मृत्यु भयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ७ वटा झोलुङ्गे पुल, ९ वटा पक्की पुल र रेडियो मेलम्ची लगायत ३३ वटा सार्वजनिक संरचना ध्वस्त भएका थिए ।

हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ भने मेलम्ची नदीमा जडान गर्न कार्य शुरू गरिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।– देवराज सुवेदी/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *